फिल्म प्रचारमा प्रशान्त



काठमाडौं, जेठ २७ (नागरिक)- गायक प्रशान्त तामाङ आफूले अभिनय गरेको दोस्रो फिल्म 'अँगालो यो मायाको'को प्रचार गर्न राजधानी आएका छन्।

यो फिल्म लगत्तै रिलिज हुने अर्को फिल्म 'किन मायामा' समेत खेलेका प्रशान्तले सांगीतिक कार्यक्रममा समेत सहभागी हुने जानकारी दिए। 'यसपटक दुवै फिल्मको प्रमोसन गर्नेछु। केही कन्सर्टमा समेत सहभागी हुन्छु,' उनले भने।

'गोर्खा पल्टन'बाट अभिनय थालेका प्रशान्त अभिनयलाई पनि निरन्तरता दिने पक्षमा छन्। 'सानैदेखि संगीतमै रूचि भएकोले यो मुख्य क्षेत्र हो। फिल्ममा भने अफर आएकोले काम गरेको हुँ,' उनले भने।


आफ्नो दुवै फिल्म एक साथ रिलिज हुन लागेकोमा भने उनी खुसी देखिए। 'दुवै फिल्ममा आफूले सकेको मेहनत गरेको छु,' फिल्म जुध्दा हुनसक्ने व्यापारिक असफलताबारे उनले भने, 'एउटै कलाकारका चार फिल्म जुधेको पनि देखिएको छ। फिल्म राम्रो भए चलिहाल्छ नि,' उनी ढुक्क छन्।

कार्यक्रममा निर्देशक विनोद सेरेङले प्रशान्तको गायनजस्तै अभिनय पनि राम्रो रहेको बताए। किशोर राईले निर्माण गरेको फिल्ममा हर्षिका श्रेष्ठ, विजेता बराइली, हेमन्त गिरी र प्रेम सुब्बा लगायतको अभिनय छ।

'अँगालो यो मायाको' असार १० र 'किन मायामा' १७ मा रिलिज हुँदैछ।